काठमाडौं, जेठ ३ :


नेपाललाई पर्यटनका लागि विश्वकै आकर्षक गन्तव्य मानिन्छ । चाँदीका घेराझैँ चम्किएका अग्ला हिमाल, भौगोलिक तथा जैविक विविधता र पहाडी भू-बनोटले पर्यटकलाई लोभ्याउने गरेको छ । मनमोहक दृश्यहरूकै कारण हिमाल आरोहणपछि पदयात्रा (ट्रेकिङ) पर्यटन विदेशीको रोजाइमा पर्ने गरेको छ । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र, मनास्लु, कञ्चनजङ्घा, माथिल्लो मुस्ताङ, थ्री पास ट्रेक, धौलागिरि, रारा ताल, सगरमाथा, मकालु आधार शिविर, माथिल्लो डोल्पा, लाङ्टाङ उपत्यका उत्कृष्ट गन्तव्य मानिन्छन् ।

सन् १९६६ मा विश्वप्रसिद्ध पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै विश्वका पर्यटकहरूको ध्यान नेपालतिर खिचिएको पाइन्छ । त्यसयता नेपालमा पदयात्राका लागि बर्सेनि लाखौँको संख्यामा विदेशी पर्यटक आउने गर्छन् । एकताका पदयात्रा विदेशीहरूको पेवाजस्तै लाग्थ्यो । तर, अहिले पदमार्गमा विदेशीसँगै स्वदेशीहरू पनि प्रशस्तै भेटिन्छन् ।

केही दशक अघिसम्म पदमार्गमा जाने पर्यटकले होटेलमा बास पाउन मुस्किल थियो । उनीहरू पदमार्गमा रहेका भेडीगोठमा बास बस्थे भने एक्लाएक्लै पद यात्रामा निस्किने गर्थे । तर, पछिल्ला दिनहरूमा पदयात्राको परिवेश बदलिएको छ ।

पदयात्राको प्रशस्त सम्भावना देखेपछि व्यवसायीहरूले पर्यटन पूर्वाधारमा लगानी बढाउन थाले । अहिले नेपालमा ट्रेकिङ कम्पनीको संख्या नै साढे दुई हजार हाराहारी छ । ट्रेकिङ क्षेत्रमा लाखौँले रोजगारी पाएका छन् । त्यसैले भोलिका पुस्ताहरूलाई पनि लाभ दिने गरी ट्रेकिङ क्षेत्रलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

नेपालमा खासगरी युरोपियन, अमेरिकन, पूर्वी एसियन पर्यटकहरूको बोलवाला छ । पछिल्लो समय दुई छिमेकी मुलुक भारत र चीनका पर्यटकको संख्या पनि बढ्न थालेको छ । आर्थिक, जनसंख्या र दूरीका हिसाबले छिमेकी राष्ट्रहरूबाट नेपालले पनि केही हदसम्म फाइदा लिइरहेको छ ।

पर्यटनमा नयाँ आयामहरू आइरहेका छन् । भूकम्प, कोरोना महामारीले थिलथिलो पारेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको छ । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र कस्तो अवस्थामा पुग्ने हो भने धेरैको चिन्ता थियो । गाह्रो समयलाई कसरी सम्हाल्ने भन्ने थियो । ‘गाह्रोमा नआत्तिने र सजिलोमा नमात्तिने’ नेपाली उखानजस्तै नीति आत्मसात् गर्दै अघि बढेका कारण नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ ।

सुरुवातमा नेपालको पदमार्गबारे विदेशीहरूले व्यवस्थापन गर्न सिकाए । त्यसपछि नेपालीहरू आफैंले सिक्दै गए र पदयात्रा पर्यटन प्राकृतिक रूपमा विकास भइरहेको छ । पछिल्ला वर्षहरूमा विदेशीहरू मात्रै होइन आन्तरिक पर्यटक पनि पदयात्रामा निस्किने चलन बढेको छ । तर, पदमार्गहरू साँघुरिँदै गएका छन् । अहिलेको मुख्य चुनौती पदमार्ग साँघुरिँदै जानु पनि हो ।

पदमार्गलाई कायम राख्नु चुनौती छ । खासगरी बढ्दो सडक सञ्जालका कारण पौराणिक हिँड्ने बाटो हराउँदै गएकाले पदमार्ग खुम्चिएका छन् । पदमार्गलाई जोगाउने हो भने पर्यटक आउँछन् र त्यसको फाइदा पदमार्गको आसपासका सर्वसाधारणले पनि लिने वातावरण बन्छ ।

पदयात्राबारे प्रचारप्रसार र सुरक्षाबारे पर्याप्त जानकारी दिन सकिएको छैन । पदयात्रामा निस्किएकाहरूको सुरक्षाका लागि टानले विभिन्न कामहरू गरिरहेको छ । टानले विदेशी पर्यटकहरूलाई रजिस्टर्ड ट्रेकिङ कम्पनीमार्फत जानुपर्ने व्यवस्था गरेको छ । एक्लै पदमार्गमा निस्किन दिइएको छैन । पर्यटकको सुरक्षाका लागि ट्रयाकिङ चिप्सको व्यवस्था गरिएको छ । नेपालका पहाड घुम्न आएका पर्यटकहरूलाई गन्तव्य अवलोकनपछि सुरक्षित देश फर्काउनु हाम्रो दायित्व पनि हो ।

पदमार्गका लागि काम गर्न हिजोभन्दा आज सहज छ । विगतमा स्थानीय सरकार प्रभावकारी थिएन । आज स्थानीय सरकारसँग विभिन्न अधिकार भएकाले सहज रूपमा काम गर्न सकिन्छ । व्यवसायीहरूले स्थानीय सरकारलाई बुझाउन सकेमा स्थानीय तहले पनि फाइदा लिन सक्छ ।

पदयात्राको प्रशस्त सम्भावना देखेपछि व्यवसायीहरूले पर्यटन पूर्वाधारमा लगानी बढाउन थाले । अहिले नेपालमा ट्रेकिङ कम्पनीको संख्या नै साढे दुई हजार हाराहारी छ ।

पदयात्रामा आउने पर्यटकहरू प्रकृतिप्रेमी हुन् । उनीहरू स्थानीय संस्कृति र मौलिकताप्रति जोडिएका हुन्छन् । पदमार्गमा लागेका संस्था, स्थानीय सरकारले आफ्नो उद्देश्यअनुसार भूमिका निर्माण ग¥यो भने मात्र समाजलाई फाइदा हुने हो । संस्थाको फाइदा स्थानीयको पनि हो र सर्वसाधारणको पनि हो । यसबाट फाइदा लिन स्थानीय सरकार जागरूक भने हुनुपर्छ । 
वास्तवमा हामीले समयसँगै पर्यटन क्षेत्रलाई अगाडि लैजान सकेका छैनौं । जबसम्म समयलाई पैसामा रूपान्तरण गर्न सकिँदैन तबसम्म न पर्यटनको विकास हुन्छ न त अरूको नै ।

सरकारको नेतृत्व गर्नेहरू राजनीतिक रूपमा आफू स्थापित हुन अग्रसर भए पनि आर्थिक रूपमा नेपाललाई अगाडि बढाउन सकेनन् । विकास कल्पना गरेर, विकास भाषण गरेर हुँदैन भन्ने कुरा नेतृत्व तहमा पुगेकाहरूले बुझेनन् । हामी गफ गर्न जान्ने तर, काम गर्न नजान्ने भयौं । हामी जनतादेखि नेतासम्म सबै गफ गर्न माहिर भयौं । यस्ता गतिविधिले नेपालको पर्यटन क्षेत्रलाई विस्तार गर्न गाह्रो भइरहेको छ ।

अहिले नेपालको सम्पूर्ण विकासको बाधक नै कानुन नमान्दै हिँड्नु पनि हो । तल्लो तहदेखि माथिल्लो तहसम्म कानुन एकरूपले लागु भएको छैन । कानुनलाई सक्नेले आफ्नो हातमा लिएका छन्, नसक्नेले मात्रै मान्नुपर्ने बाध्यता छ । यस्तो अवस्थाका कारण देश पछाडि परेको छ । पर्यटन क्षेत्र पनि यसको मारमा परेको छ ।

नेपालको पर्यटन क्षेत्र कुन अवस्थामा छ भनेर समीक्षा गर्न जरुरी छ । एसियन देशहरूमा चीन, भारत, बंगलादेश, भुटान, श्रीलंकाभन्दा पहिले नेपालमा पर्यटनको विकास भएको थियो । तर, हामी अहिले कहाँ छौं र उनीहरू कहाँ पुगिसके हेर्नुपर्छ । उनीहरू हामीभन्दा अगाडि कसरी पुगे भन्नेबारे नेपालले मनन् गर्नुपर्छ । तर, हामी पर्यटकको संख्या गणनामै खुसी भएर बसेका छौं । एक वर्षमा १० लाख पर्यटक आए भनेर खुसी भइरहेका छौँ । जबकि हामीसँग ३० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता भइसकेका छ ।

पर्यटकका लागि भनेर नेपालमा ठुला होटेलहरू खुले । अर्बौं लगानी होटेलमा भइरहेको छ । पर्यटन क्षेत्रका लागि जुन अनुपातमा लगानी भइरहेको छ त्यसको प्रतिफल (रिटर्न अफ इन्भेस्टमेन्ट) छैन । ठुला कतिपय होटेल साधारण सेयरमार्फत पब्लिकमा जाने र लगानी उठाउने दाउमा हिँड्ने गरेका छन् । लगानी उठाउन सार्वजनिक निष्कासन (आईपीओ) मा जाने हो भने सर्वसाधारण फस्ने डर हुन्छ । यसबारे कसैको ध्यान पुगेको छैन ।

अहिले नेपालको पर्यटन टिक्नुमा एउटै कारण मुद्राको अवमूल्यन (करेन्सी डिभ्यालुएसन) हो । हिजो म पर्यटन क्षेत्रमा लाग्दै गर्दा एक डलर बराबर ४५ रुपैयाँ थियो । आज एक डलर बराबर १३५ रुपैयाँ पुगिसकेको छ । यो फरकले मात्रै पर्यटन क्षेत्र टिकेको छ । नत्र यो क्षेत्रको लगानी सबै ध्वस्त भइसक्थ्यो ।

नेपाल गरिब राष्ट्र भएकाले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले नेपाललाई विदेशीबाट ‘डलर चार्ज’ लिन पाउने व्यवस्था गरेको छ । यदि नेपालमा चार्ज लिन पाउने व्यवस्था नभएको भए नेपालको पर्यटन क्षेत्र अहिलेसम्म डुबिसक्थ्यो ।

पर्यटन क्षेत्रलाई अहिलेको अवस्थामा ल्याउन निजी क्षेत्रको ठुलो भूमिका रहेको छ । यसको मतलब राज्यले केही गरेन भन्ने होइन । तर, समयअनुसार राज्यले जुन गतिमा पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने थियो । त्यो गरेन, राज्यबाट भएन ।

नेपालको पर्यटन क्षेत्रलाई माथि लैजान सरकार र निजी क्षेत्र एकजुट हुनुको विकल्प छैन । निजी क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय, सहकार्य गरेर दिगो पर्यटन बनाउन सकिन्छ । नयाँ गन्तव्यको पहिचान गर्नुपर्छ र पुराना गन्तव्यलाई पनि गुणस्तरीय बनाउनुपर्छ ।

पर्यटनबाट फाइदा लिन पर्यटकीय पूर्वाधारहरू बनाउनुपर्छ । पूर्वाधार निर्माण सरकारले नै गर्ने हो । पूर्वाधार निर्माण पनि द्रुत गतिमा हुन आवश्यक छ । ठुला विमानस्थल बनेका त छन् तर सहज रूपमा सञ्चालन भइरहेका छैनन् । सडकको अवस्था कस्तो छ भन्नै परेन । काठमाडौंबाट पोखरा जाने सडकको दूरावस्था हेरेर पर्यटक कसरी आउन सक्छन् ?

पर्यटनको विकास सडकसँग जोडिएको छ । पर्यटनको विकास हवाई सेवासँग जोडिएको छ । होटेल र सुरक्षासँग जोडिएको छ । त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मात्रै काम गरेर पुग्दैन । पर्यटन र पूर्वाधारसँग जोडिएका सबै मन्त्रालयहरूले यसमा काम गर्नुपर्छ । नेपालको पर्यटनको भविष्यलाई हेरेर पर्यटन र पर्यटन पूर्वाधारसँग जोडिएका मन्त्रालयहरूबीच समन्वयन, सहकार्य हुनु जरुरी छ ।

पर्यटनसँग जोडिएका नीति निर्माण समयसापेक्ष छैनन् र समयसापेक्ष बनाउनु जरुरी छ । पर्यटन क्षेत्रका लागि नीति-निर्माण गर्नेहरूलाई पर्यटन व्यवसयाीहरूले सदैव सकारात्मक दबाब दिनुपर्छ । विश्वको पर्यटन कता गइरहेको छ भन्ने कुरा पनि नेपालले हेर्नुपर्छ, ध्यान दिनुपर्छ ।

खर्च गर्ने प्रशस्त ठाउँ बनाएको खण्डमा मात्रै पर्यटन क्षेत्रबाट लाभ प्राप्त हुन सक्छ ।

नेपालसँग दिगो पर्यटनका लागि योजना नै छैन । अहिले नेपाल पर्यटन बोर्ड जागिर खाने थलो मात्रै भएको छ । नेपालको पर्यटनले खोजेको बोर्ड यस्तै हो त ? पर्यटन बोर्डलाई परिमार्जन गरेर पुनर्गठन गर्नुपर्छ किनभने यसलाई दुई भागमा विभाजन गरी अन्तर्राष्ट्रिय प्रमोसन र पोलिसीमा लबिइङ गर्ने खालको बनाउनु आवश्यक छ । प्रमोसन र लबिइङका लागि बोर्डलाई प्रभावकारी रूपले परिचालन गर्न सकिएमा पर्यटन क्षेत्रको विकाससँगै भविष्यलाई उज्ज्वल बनाउन सकिन्छ । पर्यटन क्षेत्र सुधारका लागि मन्त्रालयले सुझाव माग्छ तर कार्यान्वयन भने गर्दैन । पर्यटन क्षेत्रको सुधारका लागि दिइएका सुझावहरू कार्यान्वयनमा लैजाँदा मात्रै पनि राज्यले धेरै लाभ लिन सक्छ ।

विशेषगरी नेपालमा हिमाल आरोहण, पदयात्रा, धार्मिकस्थल र मनोरञ्जनका लागि पर्यटक आउने गर्छन् । बेला-बेला पर्यटकहरूको बसाइँ लम्ब्याउने चर्चा हुन्छ । गुणस्तरीय पर्यटनबारे बहस हुन्छ । तर, बसाइ अवधि घट्दै गएको छ । गुणस्तरीय पर्यटक ल्याउने, बसाइँ अवधि लम्ब्याउने र खर्च गर्ने आधार बढाउने विषयमा खासै काम भएको पाइँदैन । गुणस्तरमा ध्यान दिइएन भने पर्यटकको संख्या बढेर मात्रै केही हुँदैन । संख्यासँगै गुणस्तरमा पनि ध्यान दिनुपर्छ । खर्च गर्ने प्रशस्त ठाउँ बनाएको खण्डमा मात्रै पर्यटन क्षेत्रबाट लाभ प्राप्त हुन सक्छ ।

दिगो पर्यटनका ‘प्यारामिटर’ के-के छन् भन्नेबारे योजना बनाउने र कार्यान्वयन गर्नुपर्छ । एकातिर पर्यटन नै पर्यटन छ अर्कातिर केही पनि छैन भने त्यो दिगो पर्यटन भएन । एभरेस्टमा कुनै समय पर्यटकको भिड हुने र कुनैबेला कोही पनि हुँदैनन् । यसबारे सरकार, निजी क्षेत्र दुवैले ध्यान दिनुपर्छ ।

पर्यटनका लागि अहिलेसम्म एकीकृत योजना बनेको छैन । पर्यटन क्षेत्रका योजनाबारे मुलुक स्पष्ट छैन । व्यवसायी अस्पष्ट छन्, सरकार पनि अस्पष्ट छ । बोर्ड र अन्य संघ-संस्थाहरू पनि स्पष्ट छन् । तर, सबैले पर्यटनका लागि काम गरिरहेको दाबी गर्न चुक्दैनन् । हामीले गरेका कामले परिणाम के दियो भन्ने कुराले अर्थ राख्छ । त्यसैले प्राप्त परिणामबारे समीक्षा हुनुपर्छ । पर्यटन क्षेत्रका लागि गरिएको कामबाट पर्यटकको संख्या, राजस्व संकलन, आम्दानी, प्रचारका हिसाबले कति फाइदा पुग्यो भन्नेबारे समीक्षा हुनुपर्छ । त्यसका लागि सरकारले नेतृत्वदायी भूमिका खेलेर सबैलाई एक ठाउँमा राखेर काम गर्न सक्छ । यद्यपि नेपालमा पर्यटनको भविष्य उज्ज्वल छ । कसरी फाइदा लिने भनेर ठोस योजना भने बनाउनुपर्छ । पर्यटन क्षेत्रमा आबद्ध भएका सरकार, व्यवसायी, संघ-संस्थालगायत सरोकारवाला सबै एकजुट भएर बृहत् छलफल गरी ठोस योजना बनाउनुपर्छ । योजना बनाएर मात्रै हुँदैन कार्यान्वयन पनि गर्नुपर्छ ।

पदमार्गमा सुरक्षा निकायको उपस्थिति, सञ्चारको पहुँच, स्वास्थ्य सेवाको ग्यारेन्टी गर्दै प्रचार गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रलाई विश्वभर फैलाउन जरुरी छ । विश्वभरका मानिसलाई मर्नुअघि नेपाल घुम्नुपर्छ भन्ने सन्देश दिन सक्नुपर्छ । 
- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष पाण्डेको यो विचार ‘नाफिज जर्नल’बाट लिइएको हो ।