
मौन स्नान गर्दै सोमबारे औँसी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ । भाद्र कृष्ण औँसी आज सोमबार परेको हो ।
सोमबार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।
सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने तथा अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँसी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु उत्तम मानिन्छ ।
भाद्र कृष्ण औँसीका दिन आज घर घरमा वर्षभर देवकार्य एवं पितृकार्यका लागि महत्वपूर्ण मानिने कुश भित्र्याइन्छ।
आजैका दिन पिता प्रति सम्मान भाव प्रकट गर्दै पितृ सम्मान दिवस मनाउने गरिन्छ।
भाद्र कृष्ण औँसी पर्वका अवसरमा आज देशभर विभिन्न तीर्थस्थलमा स्नान गर्नेको घुइँचो लागेको छ ।
फोटोः देवघाटधाम