काठमाडौं, जेठ ६ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन् । जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राणाले ज्येष्ठ नागरिकमा हुने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एन्ड एजुकेसन अफ द एसियन पिपुल) द्वारा आयोजित सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरुको सहभागिता छ ।

ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत नेपाली महिलाहरुको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी राणालाई कार्यक्रमको विशेष वक्ताका रुपमा आमन्त्रित गरिएको हो ।  

जापानमा रहँदा उनले महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।