बाँके , भदौ १९ :

झाडापखालाका बिरामीलाई शरीरमा पानीको कमी भएकाले चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका- ३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो ।   

मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

मृतक चारै जनालाई झाडापखाला भएको समयमा जीवनजल लगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भई शरीरमा पानीको मात्रा कमी भएकाले उनीहरूको मृत्यु भएको पुष्टि गरेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले बताउनुभयो ।

यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिनुभयो । 

नरैनापुर- ३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलो पटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो । 

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । 

शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको पनि स्पष्ट पार्नुभयो । एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।

गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

गेग्ली गाउँकै १० वर्षीय युसुफ शेखको पनि भदौ १२ गते मृत्यु भएपछि गेग्ली गाउँवासी शोकमा छ ।