वासिङटन, जेठ ६ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार दुई घण्टा लामो फोनवार्ता भएको छ। ट्रम्पले रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताएका छन्, तर पुटिनले बिना शर्त युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन्।

ट्रम्पले आफूले चुनावी प्रतिबद्धता अनुरूप युद्ध २४ घण्टामा टुंग्याउने प्रयासका रूपमा वार्तालाई सफलता मानेका छन्। उनले पुटिन युद्ध अन्त्य गर्न इच्छुक रहेको विश्वास व्यक्त गर्दै, ‘हामी छिट्टै समाधानको नजिक छौं’ भनेका छन्।

तर पुटिनको भनाइमा, रुस युद्ध अन्त्यका लागि तयारीमा रहेको भए पनि, दुवै पक्षबाट गम्भीर सम्झौता आवश्यक छ। उनले युद्धविरामबारे छलफल गर्न तयार रहेको संकेत दिए तापनि, स्पष्ट प्रतिबद्धता जनाएका छैनन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँग छुट्टै संवाद गर्दै, ‘हामीबिना निर्णय नगर्नू,’ भनी आग्रह गरेका छन्। साथै, यदि पुटिनले युद्धविराम अस्वीकार गरेमा, पश्चिमी प्रतिबन्ध कडा पार्न आग्रह गरेका छन्।

युरोपेली नेताहरू र भ्याटिकनले वार्ता आयोजना गर्न प्रस्ताव गरेका छन्। तर युरोपेली संघका देशहरूले युद्धविराम नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्।

रुसले युक्रेनको सुमी र डोनेट्स्क क्षेत्रका केही गाउँ कब्जा गरेको दाबी गरेको छ। युक्रेनी वायुसेनाका अनुसार, पछिल्लो ड्रोन आक्रमणमा ७६ ड्रोन खसालिएको छ।