
काठमाडौँ ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयले राम्रोसँग निदाउन नपाएको गुनासो गरेका छन् ।
रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्देश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् ।
बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्ला र चर्को ध्वनि प्रदुषणले राम्रोसँग निदाउन नपाएको ठमेलका महेन्द्र महर्जनले बताउनुभयो ।
छाया सेन्टरको नजिकै बस्ने महर्जनले क्लबहरूको चर्को ध्वनि प्रदूषणकै कारण आफू लामो समयदेखि निदाउन नपाएको गुनासो गर्नुभयो ।
कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको हो ।
सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको छ ।
व्यवसायीले आचारसंहिता लागू गरे पनि क्लब तथा डान्सबारमा आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले स्थानीयलाई सास्ती हुने गरेको हो ।
ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीयको भनाई छ । रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय महर्जनले सुनाउनुभयो ।
क्लब र होटललाई पटक पटक अनुरोध गरेपनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । प्रहरीमा कुरा पुऱ्याउँदा केही समय नियम पालना गरे जस्तो गरेपनि केही दिनपनि उस्तै अवस्था आउने गरेको उनीहरू बताउँछन् ।
स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकले समेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गर्नुभयो ।
होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेको पर्यटक व्यवसायी भविश्वर शर्माले बताउनुभयो ।
ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्षसमेत रहनुभएका उहाँले २४ सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको जानकारी दिनुभयो ।
शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन् । कोभिड यता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उहाँले बताउनुभयो।