काठमाडौं, जेठ ७ :

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकी उदयपुरकी २२ वर्षीया रेबिका खत्रीको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर सरकारले उपचार खर्च व्यहोर्ने प्रतिवद्धता गरे पनि अहिलेसम्म एक रुपैयाँ पनि नदिएको परिवारको गुनासो छ।

घाइते रेबिकाका बुवा तुलसीराम खत्रीका अनुसार छोरीको उपचारका लागि सयकडा तीन ब्याजमा ऋण खोज्नुपरेको छ। उनले भने, ‘अस्पतालमा सबै औषधि नहुने, बाहिर किन्दा पैसा नपुर्‍याएसम्म नपाइने अवस्था छ ।’

प्रदर्शनको दिन नरेफाँटस्थित खाद्यान्न पसलबाट फर्किंदै गर्दा प्रहरीको गोली लागेकी रेबिकाको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। सुरुमा सिभिल अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको उनलाई पछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुर्‍याइएको थियो। अत्यधिक रक्तस्राव भएपछि चिकित्सकले खुट्टा काट्नुपर्ने बताएका थिए तर परिवारको आग्रहमा तत्काल त्यसो नगरिएको हो ।

हाल रेबिका त्रिवि अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा उपचाररत छिन्। अस्पतालका अनुसार खुट्टामा गम्भीर चोटले नसामा असर परेकाले अवस्था जटिल बनेको हो। वरिष्ठ भास्कुलर सर्जन डा. उत्तमकृष्ण श्रेष्ठको टोलीले शल्यक्रिया गरिरहेको छ।

परिवारले खर्चको बिल सरकारलाई बुझाइसकेका छन् तर कुनै सहयोग नपाएको बताउँछन्। खत्री परिवारले सञ्चालन गर्दै आएको डेरी व्यवसाय पनि ठप्प भएको छ भने सबै परिवार अस्पतालमै छन्। आर्थिक बोझका कारण रेबिकाका दाजु र आमा पनि तनावमा छन्।

उक्त घटनामा भोजपुरका डिल्लीप्रसाद लुइँटेल, काभ्रेका रामहरि श्रेष्ठ, दोलखाका रामचन्द्र बुढाथोकी लगायत अन्य घाइतेको पनि उपचार जारी छ। लुइँटेलको दुईवटा आन्द्रा पेटबाहिर राखिएको छ भने अरु घाइतेहरू पनि आर्थिक संकटमा परेका छन्।

सरकारले उपचार खर्च व्यहोर्ने प्रतिबद्धता गरे पनि पीडितहरू राज्यको बेवास्तामा परेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्।