काठमाडौं, जेठ ७ :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित संसद्को लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिएको छ।

बुधबार साढे चार घन्टा चलेको बैठकपछि समितिले सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन अख्तियारमा पठाउने निर्णय गरेको हो। प्रतिवेदनमा करिब १० अर्ब रुपैयाँको अनियमितता भएको दाबी गरिएको छ।

लिङ्देन नेतृत्वको उपसमितिको  प्रतिवेदन र गोकुल बास्कोटा तथा तारा लामाको फरक मतसहितको प्रतिवेदन अख्तियारमा पठाउने निर्णय भएको छ।

समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार प्रतिवेदनमा उठाइएका १५ वटा मुख्य प्रश्नका आधारमा अख्तियारले अनुसन्धान गर्नेछ। 

बैठकमा प्रतिवेदन कसरी अगाडि बढाउने भन्ने विषयमा सत्ता र विपक्षी सांसदहरूबीच केही विवाद पनि भएको थियो। एमालेका सांसदहरूले प्रतिवेदन अपूर्ण भएको भन्दै सम्बन्धित पक्षलाई बोलाएर छलफल गर्नुपर्ने माग गरे भने विपक्षी सांसदहरूले भने प्रतिवेदन जस्ताको तस्तै पठाउनुपर्ने अडान लिए। अन्ततः प्रतिवेदनको भाषिक शुद्धता हेरेर अख्तियारमा पठाउने निर्णय गरिएको छ।