
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् ।
राष्ट्रिय सभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताए । ‘हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो । जसले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउने गरी काम गर्नेछ,’ उनले भने ।
मन्त्री पाण्डेले पर्यटन ऐनलाई राम्रो बनाउन राष्ट्रिय सभाले महसुस गरेको उल्लेख गर्दै भने, ‘दफावार छलफलका माध्यमबाट विधेयकलाई थप समृद्ध बनाउनेछौं । समितिमा लगेर छलफल गर्नेछौं । मन्त्रीका तर्फबाट कुनै पनि जडता नराखीकन विधेयकलाई सदृढ बनाउन संशोधन गर्न तयार छौं ।’
यो विधेयक प्रणालीलाई बलियो बनाउने दायित्वबोध गरेर ल्याइएको समेत मन्त्री पाण्डेले बताए । उनले थपे, ‘विधेयकमाथि छलफल गर्दा हाम्रो प्रणालीलाई बलियो बनाउने दिशामा उन्मुख हुनुपर्नेछ । अर्को महत्त्वपूर्ण कुरा सुशासनको पाटो खड्किएको छ । त्यसका लागि प्रभावकारी संरचना बनाउने र कार्यान्वयन गर्ने गरी विधेयकलाई सुदृढ बनाउने गरी काम गरौं भन्न चाहन्छु ।’
पर्यटनमा निजी क्षेत्रलाई समेट्नका लागि निजी क्षेत्रमैत्री व्यवस्था पनि मिलाउनुपर्नेसमेत मन्त्री पाण्डेले बताए । उनले भने, ‘निजी क्षेत्रलाई मन खोलेर लगानी गर्नसक्ने वातावरण बनाउने र भरोसा दिलाउने काम हामीले गर्नुपर्नेछ । यसलाई कानुनका माध्यमबाट स्थापित गर्नेछौं । पर्यटनमैत्री वातावरण हामीले सिर्जना गर्नेछौं ।’
मन्त्री पाण्डेले पर्यटकीय र सांस्कृतिक रुपमा सम्पन्न नेपाल दुनियाँभरको आस्थाको केन्द्रका रुपमा रहेको औंल्याए । ‘हामीले दुनियाँभरका मानिसलाई नेपाल निम्त्याउनु पर्नेछ,’ मन्त्री पाण्डेले भने, ‘हाम्रा कला र सम्पदाहरु अद्वितीय छन् । भूकम्पले ढलेका पुरातात्त्विक सम्पदालाई पनि उठाएका छौं । हाम्रा ढलेका सम्पदाहरु त्यही स्वरुपमा र कौशलमा बनेको देख्दा देशमा अरनिकोहरु पनि अहिले पनि छन् भन्ने आभास भएको छ ।’
उनले पर्यटन क्षेत्रलाई देशव्यापी बनाउनुपर्नेमा पनि जोड दिए । ‘पर्यटन क्षेत्रलाई देशव्यापी बनाउनुपर्नेछ,’ उनले भने, ‘अहिले केही क्षेत्र मात्र पर्यटकीय क्षेत्र भएकोजस्तो भएको छ । हामीले थोरै मात्र हिमालमा पर्वतारोहणको अनुमति दिएको स्थिति छ । यसपटक हामीले ५७ वटा हिमाल खुला गरेका छौं ।’
नेपाल पर्वातारोहण संघलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरताका साथ छलफल गर्न आफू खुला रहेको उनको भनाइ छ । त्यसैगरी अपांगता भएका मानिसका लागि पनि उपयोग हुने र अपांगता भएका पर्यटक पनि सहज रुपमा आवतजावत गर्नसक्ने संरचना निर्माण गर्नुपर्ने मन्त्री पाण्डेले बताए ।
क्यासिनोलाई धेरै विवादित बनाउन नहुनेमा उनले जोड दिए । ‘यसको नियमनमा हामीले ध्यान दिनुपर्नेछ । मकाउको जीडीपीको अधिकांश हिस्सा क्यासिनोले समेट्ने गरेको छ । त्यसकारण क्यासिनो बन्द गर्नेभन्दा पनि नियमनमा ध्यान दिनुपर्नेछ । हामीले विधेयक निर्माणका सन्दर्भमा ध्यान दिन्छौं,’ उनले भने ।
मन्त्री पाण्डेले पुरातात्त्विक सम्पदा जोगाउँदै विकासका नयाँ बाटाहरुको खोजी गर्नुपर्ने उल्लेख गरे । ‘सन्तुलन कायम गर्नुपर्छ । नदी जोगाउने मात्रै कि ऊर्जा उत्पादन गर्ने कि जलयात्रा बढाउनेजस्ता कामहरुमा हामीले केन्द्रित हुन आवश्यक छ,’ उनले भने, ‘पुरातत्त्व जोगिएन भने हाम्रो सभ्यता मर्दै जान्छ । पर्यटकका लागि सजिलो बनाउने र हाम्रा मौलिकता पनि जोगाउने विषयमा ध्यान दिन आवश्यक छ ।’