काठमाडौं, जेठ १२ :

चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् ।

चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा गरेका थिए ।

‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौं । यो हाम्रो दोस्रो सहकार्य हो,’ निर्देशक शेर्पाले भने, ‘स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।’

‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को-को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो ।

चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंको रहनेछ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहोरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल छन् ।

‘मिरमिरे’लाई २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।