
फाइल तस्बिर।
सुरक्षा निकायको शंका, अनुसन्धानको ढिलाइ र निष्कर्षविहीन आरोपले २६ जना नागरिकले ६० दिन अनाहकमा थुनामा बिताए। तीनकुनेमा भएको हिंसात्मक घटनापछि पक्राउ परेका यी व्यक्ति अहिले रिहा भइसकेका छन् ।
अपराधी होइन भन्ने पुष्टि हुन ६० दिन लाग्यो। ती दिन उनीहरूले न घरको आँगन देख्न पाए, न आफ्ना छोराछोरीलाई अँगाल्न। ‘म शान्तिपूर्ण विरोधमा थिएँ, तर एक्कासि पक्राउ परें। हत्तपत्तमा थुनिएको थिएँ। त्यसपछि ६० दिन कसमाथि बिते,’ रिहा भएका एक व्यक्तिले भावुक हुँदै भने।
न कुनै प्रमाण, न त मुद्दा नै
प्रहरीले सुरुमा उनीहरूलाई ‘आपराधिक उपद्रव’ र ‘संगठित अपराध’ मा संलग्न भन्दै पक्राउ गर्यो। अदालतबाट म्याद थप्दै अनुसन्धान गरियो। तर अन्त्यमा जिल्ला सरकारी वकिल कार्यालयले ‘संलग्नताको कुनै प्रमाण छैन’ भन्दै उनीहरूलाई छुटाउने निर्णय गर्यो।
यो निर्णयले एकातर्फ निर्दोष व्यक्तिको मुक्ति सुनिश्चित गरे पनि अर्कातर्फ राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ— के अब त्यस्ता अन्यायको क्षतिपूर्ति राज्यले दिन्छ?
‘थुना भित्रको पीडा’
रिहा भएकाहरूका कथाहरू पीडादायक छन्। कोही दिनदिनै परिवार सम्झेर रुन्थे, कोहीको जागिर गयो, कोहीको पढाइ छुट्यो।
मौन न्याय प्रणाली र चुप लागेका निकायहरू
६० दिनसम्म प्रहरी हिरासतमा राखिएपछि ‘मुद्दा नचलाउने निर्णय’हुनु आफैंमा प्रश्नको विषय हो। मानवअधिकारकर्मीहरूले यसलाई गम्भीर उल्लंघन भनेका छन्। कानुनविद्हरू भन्छन् - ‘थुनाजस्तो कठोर कदम प्रमाणबिना प्रयोग गर्नु न्यायिक प्रक्रिया होईन, यो दण्ड हो।’
अब प्रश्न उठ्छ यो ‘रिहा’ ले यी २६ जनाको गुमेको समय, मानसिक आघात र सामाजिक बदनामीताको क्षतिपूर्ति कसले दिने?
घटनापछि प्रहरीले करिब १५० जनालाई पक्राउ गरेको थियो। ५० जनामाथि भने राज्यविरुद्धको कसुरसहित संगठित अपराधमा मुद्दा दायर गरिएको छ। उनीहरूको जिल्ला अदालत काठमाडौंमा सोमबारदेखि बयान सुरु भएको छ। तीमध्ये २६ जनालाई भने अन्तिम दिनसम्म पनि प्रहरीले संलग्न देखिएको भन्दै हिरासतमा राखेको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनीहरूमाथि कुनै पनि आरोप पुष्टि नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेपछि प्रहरीले उनीहरूलाई रिहा गरेको हो।
रिहा हुनेहरूमा देवबहादुर थापा मगर, राजा ठाकुर हजाम, प्रसिद्ध मल्ल, नविन ढकाल, अशोक पराजुली (आलोक पराजुली), इरफान हजाम, गणेशबहादुर गुरुङ, विवेक खनाल (विवेक रखाल), उपेन्द्र प्रसाद शाह, गणेश प्याकुरेल, सरुन थापा र ईस्टन लामा छन्।
त्यस्तै भविन्द्र विसी, विकास ओली, जीवलाल पुरी, आशिष तामाङ, लिला राना, मनिष कुमार शाही, भगवती रोक्का, सरिता केसी (सरिता खत्री), सुदर्शन थापा, सीता देवी राई, कृष्ण कुमार बस्नेत, मुकुन्द दाहाल र राजकुमार राई पनि निर्दोष ठहरिएर रिहा भएका हुन्।