काठमाडौं, जेठ १४ :

सदनको अवरोध हटाउन सत्तापक्ष र विपक्षी दलहरु घनिभूत रुपमा छलफल गरिरहेका छन् । यस्तै सभामुख देवराज घिमिरे पनि सदनको अवरोध हटाएर नियमित सञ्चालनको प्रयासमा जुटेका छन् । उता अर्थमन्त्री विष्णु पौडेल पनि संवैधानिक नियमअनुसार सदनमा आगामी आवका लागि बजेट प्रस्तुत गर्ने तयारीमा छन् ।

यसरी दलहरु र सभामुख सदनलाई नियमित सञ्चलनका लागि जुटिरहँदा सहमति कहिले जुट्ला भन्ने प्रश्न उठेको छ । दलहरुलाई भिजिट भिसा प्रकरणको र त्यसमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने या नदिने भन्ने विषयमा घनिभूत छलफल चलेको हो । सत्तपक्षले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने अडान राख्दा विपक्षी दलहरुले जसरी भए पनि गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अडानमा छन् ।

सदनको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री लेखकलाई साथै लिएर बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग देउवा, लेखक, स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायतले कसरी अघि बढ्ने भन्नेमा छलफल चलिरहेको छ ।

उता विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामालाई बटमलाइन बनाएर अघि बढेका छन् । उनीहरुले हिजो (मंगलबार) सदनमा गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई सघाउन माग गरेका थिए । विपक्षी दलहरुले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने तयारी गरेका छन् । यसो भइरहँदा सरकारले आगामी आवका लागि ल्याउनैपर्ने बजेट सदनमा प्रस्तुत हुने सम्भावना भने देखिँदैन ।

सदनको अवरोध खुलाउने विषयमा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटघाट भइरहँदा ओलीको सचिवालयले भने यसलाई नियमित भेटघाट भनेको छ ।

यता उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनमा आज  (बुधबार) आव ०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८२ माथि दफाबार छलफल गरी आजै पारित गर्ने कार्यतालिका छ ।

सरकारले भोलि (बिहीबार) आव ०८२/८३ को बजेट ल्याउँदै छ । भोलि बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएकाले बजेट र संसद्‍मा उठेका विषय सम्बोधन सत्तारुढ दुई दलबीच छलफल भएको हो ।

सरकारले विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएको छ ।

यो पनि…

गृहमन्त्रीको राजीनामा नआउने : संसद्‌मा बोल्न दिन विपक्षीलाई सत्तापक्षको आग्रह

अझै सुरु भएन प्रतिनिधिसभा बैठक, विपक्षी दलहरूबीच छलफल