सिन्धुली, भदौ २० :
सुख्खा पहिरोले मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध भएको छ ।
मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका- २ कुखुरेटारस्थित मध्यपहाडी लोकमार्गमा गएराति सडकको माथिबाट ढुङ्गा माटोसहितको सुख्खा पहिरो झरेर बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले उक्त स्थानमा प्रहरी चौकी ग्वालटारबाट गएको प्रहरी टोलीले सडक खुलाउने पहल गरिरहेको जानकारी दिनुभयो ।
यसअघि दुई दिन अघि मात्रै मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउपालिका ५ पञ्चकन्या, थाम्लेघाट मा सडक माथिबाट सुख्खा पहिरो झरेर सडक अवरुद्ध भएको थियो ।
जथाभावी खोलिएका ट्रयाक, सडक र कमजोर निर्माणका कारण मध्यपहाडी राजमार्गको ठाउँठाउँमा पहिरोको उच्च जोखिम छ ।