काठमाडौं, जेठ १७ :

विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे ।

निर्देशक राउतले भने, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र महाभोज केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।’

उनले थप भने, ‘अब चलचित्र जेठ ३० गते रिलिज हुँदै छ । यो हाम्रो समाजको कथा हो, तपाईंहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौं । त्यसैले यही मितिमा नजिकको हलमा महाभोज हेर्न नबिर्सिनु होला ।’

केही दिनअघि यो चलचित्रको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो । जहाँ चलचित्र हेरेका दर्शकले व्यापक सकारात्मक प्रतिक्रिया दिएका थिए । यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जकसमेत रहेको प्रतिक्रिया उक्त शोबाट प्राप्त भएको थियो ।

चलचित्र ‘महाभोज’ मा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकमा चासो पैदा गरिरहेको छ । यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाल, मोहन निरौलालगायत प्रमुख अभिनय छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।