
प्रतीकात्मक तस्बिर ।
गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ ऐनको विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले आइतबारदेखि लामो दूरीका सवारी साधन सञ्चालन ठप्प पारेका छन् भने सोमबार (भोलि) देखि सार्वजनिक यातायात पूर्णरूपमा बन्द गर्ने घोषणा गरेका छन् ।
गण्डकी सरकारले रातो नम्बर प्लेट भएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी साधनलाई यात्रु ओसारपसार गर्न पाउने व्यवस्था सहितको ऐन ल्याएपछि देशभरका यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् ।
नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले निजी सवारीलाई सार्वजनिक जस्तै सञ्चालनको अनुमति दिनु गलत भएको बताए । 'सार्वजनिक सवारी सञ्चालनको विधि, ’ उनले भने, ‘आयात र अन्य विषयमा सरकारको ठोस नीति के हो भन्ने प्रश्न उठेको छ ।'
जोशीले सरकारले विगतमा व्यवसायीहरुसँग गरेका सहमति र सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखे । उनले भने, 'गण्डकी सरकारले ल्याएको ऐन खारेज हुनुपर्छ, नत्र आन्दोलन कडा बन्छ ।'
व्यवसायीहरुले आइतबार सवारी साधनमा कालो झण्डा र कालो पट्टी टाँसेर विरोध जनाएका छन् । उनीहरुले राज्यले लाखौं रुपैयाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक सवारीलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।