
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपाल अध्यक्ष कमल थापालाई ससम्मान रिहा गर्न माग गरेका छन्। आज काठमाडौंको नक्साल र बालुवाटार क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो।
प्रदर्शनपछि सम्बोधन गर्दै लिङ्देनले भने, ‘कमल थापालाई तुरुन्त फिर्ता गरिएन भने भोलिबाट काठमाडौं उपत्यका बन्द हुनेछ।’ उनले देशभरबाट कार्यकर्ता बोलाएर निर्णायक संघर्ष सुरु गर्ने चेतावनी पनि दिए।लिङ्देनले भने, ‘अब हामी एउटै ठाउँमा होइन, ५० ठाउँबाट निस्कनेछौं। कहाँ रोक्नुहुन्छ?’
राप्रपा, राप्रपा नेपाललगायत राजावादी दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै जेठ १५ गतेदेखि काठमाडौंमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। आज निषेधित क्षेत्रतर्फ जान खोजेपछि प्रहरीले लाठीचार्ज गर्दै थापासहित चार जनालाई नियन्त्रणमा लिएको हो।