धनुषा, भदौ २० :
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ ।
बुधबार साँझ अबेर तीन बालक डुबेका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका छन् ।उनीहरु आफन्त हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए । डुब्ने बालकहरु महावीर साहका नातीहरु रहेको बताईएको छ ।
तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
उनीहरु पोखरीमा पौडी खेल्ने क्रममा डुबेको हुन सक्ने बताईएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।