काठमाडाैं, जेठ १९ :

राइड सेयरिङसम्बन्धी नियमावली खारेजलगायत ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीच सोमबार भएको वार्ता निष्कर्षविहीन बनेको छ।

सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सोमबार दुई चरणमा वार्ता भए पनि कुनै सहमति बन्न सकेन।

'आजको दुई चरणको वार्तामा कुनै सहमति बन्न सकेन,' महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने, 'अर्को वार्ता भोलि बिहान साढे १० बजे बस्ने तय भएको छ।'

वार्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा बनेको सरकारी टोली र महासंघबीच भएको हो।

महासंघका अनुसार राइड सेयरिङसम्बन्धी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली खारेज गर्नुपर्ने, सार्वजनिक सवारीमाथिको कर हटाउनुपर्ने, पुराना सवारी नवीकरणमा सहजता दिनुपर्ने लगायतका ७ बुँदे माग प्रस्तुत गरिएको छ।

सरकार र महासंघबीच ६ बुँदामा सहमति नजिक पुगेको बताइएको छ। तर, मुख्य विवादास्पद बुँदा  राइड सेयरिङमा सहमति नजुटेकाले वार्ता निष्कर्षविहीन भएको हो।

गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ भने महासंघको आह्वानमा सोमबारदेखि देशभर सवारी सेवा अवरुद्ध पारिएको छ।

वार्ता अझै टुंगोमा नपुगेकाले बन्दका कार्यक्रमबारे थप निर्णय नभएको अध्यक्ष स्वाँरले बताए। ‘भोलिको वार्तामा सहमति जुटे आन्दोलनको स्वरूपबारे निर्णय हुन्छ,’ उनले भने।