काठमाडौँ, साउन १३: काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान स्थानीय तहको माग भएपछि थप तीन दिनसम्म जारी राख्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । बालबालिकालाई मुखबाट खुवाइने ‘ओपिभी’ खोप खुवाउन थालिएको हो । 
टुकुचा खोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो । उहाँले अहिलेसम्म लक्ष्यभन्दा पनि बढी बालबालिकालाई खोप लगाइएको बताउनुभयो । 
करिब दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाउने लक्ष्य लिए पनि दुई लाख ८४ हजार छ सय ३४ बालबालिकालाई खोप खुवाइएको शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो ।