कास्की, भदौ २१ :

गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी चालकलाई कारबाही गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटा जिल्लामा गरी एक महिनामा उक्त सङ्ख्यामा सवारी चालकलाई कारबाही गरिएको जनाएको हो । 

यसैगरी सोही अवधिमा सवारी साधन कारबाहीबाट एक करोड ५० लाख ५२ हजार पाँच सय राजस्व सङ्कलन भएको कार्यलयले जनाएको छ ।

सबैभन्दा बढी कास्कीमा सवारी चालक कारबाहीमा परेका छन् । कास्कीमा सात हजार तीन सय १३ सवारी साधन कारबाहीमा पर्दा ५४ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी नवलपरासीमा दुई हजार आठ सय सतासी सवारीसाधनबाट २२ लाख ४१ हजार पाँच सय, तनहुँमा तीन हजार चार सय ४५ सवारीसाधनबाट २६ लाख ९७ हजार पाँच सय, स्याङ्जामा एक हजार दुई सय ३५ सवारीसाधनबाट नौ लाख ८३ हजार पाँच सय, बागलुङमा नौ सय ७० बाट आठ लाख ४१ हजार, लमजुङमा एक हजार सात सवारी साधन कारबाहीबाट सात लाख ६८ हजार राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

यसैगरी गोरखामा नौ सय ७२ सवारीसाधनबाट नौ लाख २८ हजार पाँच सय, पर्वतमा छ सय ११ सवारीसाधनबाट  पर्दा पाँच लाख ७५ हजार, म्यादीमा पाँच सय ७४ बाट चार लाख २५ हजार पाँच सय, मुस्ताङबाट ७५ सवारी साधन कारबाहीबाट ७१ हजार पाँच सय र मनाङमा २४ सवारीसाधनबाट २२ हजार राजस्व जम्मा भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेको सङ्ख्या बढ्न थालेपछी जिल्ला जिल्लामा जाँचमा कडाइ  गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।