
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको निर्माणको काम चाँडै सुरु हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले गर्नुपर्ने काम अन्तिम चरणमा रहेको बताउनुभयो । सुक्खा बन्दरगाह निर्माणस्थलका रूख कटानका लागि सरकारले चाँडै अनुमति दिने उहाँको भनाइ छ ।
बन्दरगाह बन्ने ठाउँका रूख काट्न पर्यावरणीय अध्ययन भइसकेको र अब रूख काट्ने अनुमतिका लागि हप्ता दुई हप्ताभित्र निर्णय गर्ने प्रक्रियामा रहेको गृहमन्त्री लेखकले बताउनुभयो । त्यो गरेपछि भारतले संरचना निर्माण गर्न टेन्डर आह्वान गर्ने र निर्माणको काम अघि बढ्ने उहाँको भनाई छ ।
बन्दरगाहको सम्पूर्ण भौतिक संरचना भारतले बनाउने दुई देशबीच सम्झौता भएको छ । सम्झौताअनुसार भारतले बन्दरगाह निर्माण गर्न बजेटमा समेत उल्लेख गरिसकेकाले चाँडै निर्माणको काम अघि बढ्ने मन्त्री लेखकको विश्वास छ ।
दार्चुलाको टिङ्कर नाकामा पनि अध्यागमन कार्यालय खोल्ने सरकारले तयारी गरिरहेको उहाँको भनाइ छ ।