
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार दिउँसो आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रम संसद्बाट पारित भएपछि असार १ मा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । सरकारले नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधारलाई बढी जोड दिएको छ । सुशासनलाई प्राथमिकता दिइएको छ ।
मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप कार्यक्रममार्फत प्रतिभाशाली युवाहरूलाई नीति निर्माण र कार्यान्वयनमा संलग्न गराइने नीति तथा कार्यक्रममा समावेश छ ।
साथै प्रदेश सरकारले समावेशी विकास, संघीयताको संस्थागत मजबुतीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रणालीगत सुधारमा पनि जोड दिएको छ ।
यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेशमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने भएको छ । नीति तथा कार्यक्रमममा भनिएको छ, ‘नेपाल सरकारको समन्वयमा सवारी चालक अनुमतिपत्रको छपाइ तथा वितरण कार्य प्रदेशबाटै सुरूवात गरिनेछ ।’ सवारीसाधन करलाई अनलाइनमार्फत भुक्तानी, अन्य प्रदेशमा दर्ता भई गण्डकीमा दर्ता/नवीकरण हुन चाहने सवारीसाधनलाई सहुलियत दिइने भएको छ ।
सरकारले राइड सेयरिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गर्ने भएको छ । गएको जेठ २ गते साइड सेयरिङ नियमावली जारी गरेको प्रदेशले संघ सरकारको निर्देशनबमोजिम मंगलबार एक महिनाका लागि यसलाई स्थगन गरेको थियो ।
गण्डकीको नीति तथा कार्यक्रमको पूर्णपाठ :