काठमाडौं, जेठ २६ :

वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहित ६ जना कानुन व्यवसायीले दुर्गा प्रसाईंलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएर पक्राउ परेका प्रसाईंमाथि राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध लगायत आरोपमा मुद्दा दायर गरिएको छ।

प्रसाईंको तर्फबाट डा. आचार्य, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, टंक दुलालसहितका कानुन व्यवसायीले अदालतमा थुनाबाहिरै राखेर पुर्पक्ष गर्नुपर्ने माग गरेका हुन्। उनीहरूले घटनामा प्रसाईंको प्रत्यक्ष संलग्नता नरहेको दाबी गरेका छन्।

३९ जना प्रतिवादीसहितको मुद्दामा बयान प्रक्रिया सकिएपछि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ। तीन दिन सरकारी वकिलको बहसपछि आइतबारदेखि प्रतिवादी पक्षबाट बहस सुरु भएको हो। अब अन्य प्रतिवादीका वकिलको बहसपछि सरकारी वकिलको जवाफी बहस हुनेछ। त्यसपछि थुनामै राख्ने कि थुनाबाहिर पुर्पक्ष गर्ने भन्ने निर्णय हुने छ।

तीनकुने घटनामा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। निजी तथा सर्वजनिक सम्पत्तिमा आगजनी गरी करोडौंको क्षति पुर्‍याइएको थियो ।