
काठमाडौँ महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अभियानअन्तर्गत सिप मेला २०८२ सञ्चालन गरिरहेको छ। निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्था र दातृ निकायको सहकार्यमा सञ्चालन भइरहेको मेलाको यो दोस्रो संस्करण हो।
मेलाको उद्देश्य सिप नजान्नेहरूलाई सिप सिकाउने र आधारभूत सिप भएका व्यक्तिहरूको दक्षता स्तरोन्नति गर्नु रहेको मेयर बालेन शाहले जनाएका छन्। यसपटक १५ हजार जनालाई पूर्ण रूपमा निःशुल्क सिपमूलक तालिम दिने लक्ष्य राखिएको छ भने ५ हजार जनालाई रोजगारी वा स्वरोजगारमा जोड्ने योजना रहेको छ।
हालसम्म १४ हजार ७४८ जनाले अनलाइनमार्फत आवेदन दिएका छन्, जसमा ६ हजार ५ सय २२ महिला, ८ हजार २ सय ८ पुरुष र १८ जना एलजीबीटीआईक्यू समुदायका छन्। तीमध्ये २ हजार ५ सय ४८ जनालाई छनोट गरी तालिम सुरु भइसकेको छ।
मेलामा सूचना प्रविधि, ब्युटिसियन, हाउसकिपिङ (विशेष क्षमता भएका व्यक्तिका लागि), इलेक्ट्रोनिक्स, गार्मेन्ट्स, कन्स्ट्रक्सन, हस्पिटालिटी, अटोमोबाइल्स, आर्ट एण्ड स्कल्प्चर, ज्योतिष, कृषि (फ्लावर डेकोरेसन) र स्टक मार्केट लगायतका १० विधाका ३७ पेशासँग सम्बन्धित तालिम सञ्चालनमा छन्।
बारिस्ता, डिजिटल मार्केटिङ र ब्युटिसियन तालिममा सर्वाधिक आवेदन परेका छन्। तालिमहरू बिहान ७ बजेबाट सुरु भई ३ सिफ्टमा सञ्चालन हुन्छन्। प्रत्येक प्रशिक्षार्थीले १०० घण्टा तालिम लिनेछन्।
तालिमपछि रोजगारी मेला आयोजना गरिनेछ जसमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रशिक्षार्थीहरूबीच अन्तर्क्रिया हुनेछ। साथै, उनीहरूलाई ‘अन द जब’ ट्रेनिङ र स्वरोजगारका लागि सहयोग उपलब्ध गराइनेछ।
काठमाडौँ महानगरपालिकाले रोजगारी मेला अवलोकन गर्न र ‘सीभी लेखन’ तथा ‘अन्तर्वार्ता दिने’ जस्ता एकदिने तालिममा सहभागी हुन इच्छुक सबैलाई स्वागत गरेको छ।
