
एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ ।
न्यु लाओस राष्ट्रिय रङ्गशालामा मंगलबार सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो ।
लाओसले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै नेपाललाई दवावमा राख्यो। खेलको १३औँ मिनेटमै दामोथ थोङखामसाभाथले गोल गर्दै लाओसलाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको चार मिनेटमै पिटर पान्थावोङले अर्को गोल थप्दै लाओसलाई २–० को बलियो स्थितिमा पुर्याए।
नेपालले खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत् एक गोल फर्कायो। मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पायो, जसलाई डाँगीले सजिलै गोलमा परिणत गरे।
तर बाँकी समयमा नेपालले बराबरी गर्न सकेन र अन्ततः २–१ को हार भोग्न पुग्यो। यो हारसँगै नेपालले समूह चरणका दुई खेलमै पराजय भोग्दै अङ्क तालिकामा खाता खोल्न सकेको छैन। पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो।
नेपाल र लाओसबीच यसअघि भएका ६ खेलमध्ये नेपालले चार खेल जितेको थियो भने दुई खेल बराबरीमा सकिएका थिए। तर, यस पटक लाओसले ऐतिहासिक जित निकाल्दै नेपालमाथि पहिलो पटक विजय दर्ता गरेको हो।
नेपाल रहेको समूहमा मलेसिया, लाओस र भियतनाम छन्। समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउनेछन्। नेपालले अब आफ्नो अन्तिम खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ।