
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको भन्दै यस विषयमा सरकारसँग दुई बुँदे सहमति गरिएको बताएका छन्।
शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्तापक्षसँगको सहमति मुलुक र जनताको वृहत्तर हितका लागि गरिएको स्पष्ट पारे। संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सदनबाट छिटो पारित गर्नुपर्ने भएकाले सहमति आवश्यक भएको उनले बताए।
गृहमन्त्री रमेश लेखकको संसदमा दिइएको चेतावनीपूर्ण अभिव्यक्तिको जिम्मेवारी लेखक आफैंले लिनुपर्ने प्रचण्डको भनाइ छ।
पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दा र गृहमन्त्रीको राजीनामाबीच कुनै प्रकारको लेनदेन भएको भन्ने आरोपप्रति प्रचण्डले तीव्र असन्तुष्टि जनाउँदै "त्यो त एकदमै वाहियात कुरा हो" भनेर स्पष्ट रूपमा खण्डन गरे।
उनले भिजिट भिसा प्रकरण र सापकोटाको मुद्दा दुई फरक विषय भएको र तिनीहरूलाई जोडेर देखाउने प्रयास गलत रहेको बताए। साथै, दुई बुँदे सहमति सत्ता साझेदारीको लागि गरिएको भन्ने अड्कल पनि अस्वीकार गर्दै सहमति सत्तासँग सम्बन्धित नरहेको दाबी गरे।
प्रचण्डले सहमति कार्यान्वयन नभए एक महिनापछि फेरि आन्दोलनमा जाने चेतावनी पनि दिए।