झापा, असार २ :

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले देशलाई नयाँ अभिभावक नेतृत्वको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई २०८३ सालमा संन्यास लिन आग्रह गरेका छन् ।

उनले भने,  ‘०८३ मा तीन संन्यास, तीन अभिभावक हुन सक्ने अवधारणाले यदि मूर्त रूप पायो भने जनतामा आशा र उत्साह जाग्नेछ ।’ झापा मेचीनगरस्थित धुलाबारीमा आयोजना गरिएको खानेपानी ट्यांकी शिलान्यास कार्यक्रममा उनले उक्त विचार व्यक्त गरेका हुन् ।

शर्माले देशले समग्र राष्ट्रिय नेतृत्व गर्न सक्ने योग्य अभिभावक खोजिरहेको बताए । त्यस्ता परिवर्तनका लागि २०८३ साल उपयुक्त हुने उनको धारणा थियो ।

साथै, शर्माले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन हुने संकेत पनि गरे । उनले पार्टीको विधानमा सभापति परिवर्तनको स्पष्ट व्यवस्था रहेको जनाउँदै नयाँ सभापति को हुने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए । ‘अब हामी परिवर्तनमा जान्छौं,’ उनले जोड दिए ।