
चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति अलि पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो ।
रहस्यमयी हिममानव यती सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य, जसमा हिमाली क्षेत्रमा सिनेमा हल छैन । त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ भन्ने आसयको अभिव्यक्तिसहितको एआई भिडियो छ ।
अर्को भिडियोमा यतिले आफूले ‘पूर्णबहादुरको सारङ्गी’ पनि हेरेको भन्दै ‘अभिमन्यु : च्याप्टर-१’ पनि हेर्ने र यो सिनेमा भदौ २७ मा लाग्छ भनेको देखिन्छ ।
ठुलो बजेट लाग्ने भिडियो एआईको सहयोगमा निर्माणपक्षले सहजै बनाएर सिनेमाको प्रयोग गरिरहेको छ । यसले एआईको अधिकतम प्रयोग सिनेमाको प्रचारमा गर्न सकिने प्रस्ट पारेको छ ।
निर्माणपक्षले सिनेमाको प्रचारमा यती किन राख्यो ? यतीजस्तै महत्त्वपूर्ण तर दुर्लभ सिनेमा हो ‘अभिमन्यु : च्याप्टर-१’ भन्ने अर्थमा हो ? अथवा संयोग मात्रै हो ? यसबारे निर्माणपक्षले केही बताएको छैन ।
जे भए पनि निर्माणपक्षले चाहेको खण्डमा सस्तो र सरलमाध्यमबाट एआईको प्रयोग गरेर सिनेमाको प्रचार गर्न सक्छन् भन्नेचाहिँ यी दुई भिडियोबाट अनुशरण गर्न सकिन्छ ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ को यसअघि नै काउन्ट-डाउन सुरु गरिसकेको छ । निर्माणपक्षले सयदिने काउन्ट-डाउन पोस्टर सार्वजनिक गर्दै सुरु गरेको थियो ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ अहिले पोस्टप्रोडक्सनमा छ । मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् ।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।
‘अभिमन्यु : च्याप्टर-१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी रहेको छ । यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।