काठमाडौं, असार ६ :

गत वर्ष साउन २ गते बरामद गरिएको ६१ किलो अवैध सुन प्रकरणमा संलग्न फरार अभियुक्त अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि भन्सार चोरी पैठारी र सङ्गठित अपराधको अभियोग लागेको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार रोल्पाको थवाङ गाउँपालिका–२ स्थायी घर भई हाल टोखा नगरपालिका–३ सूर्यदर्शन टोलमा बसोबास गर्दै आएकी ४४ वर्षीया रोकालाई शुक्रबार पक्राउ गरिएको हो। ब्युरोका प्रहरी उपरीक्षक युवराज खड्काले उनलाई प्रहरी टोलीले टोखाबाट पक्राउ गरेको जानकारी दिए।

रोका सुन तस्करीको नाइके दावा छिरिङसँग नजिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।