
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनीष राउत छन् ।
मनीष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनीष ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछि मुख्य भूमिकामा थिए । ‘प्रेमगीत ३’मा रुचाइएका उनी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा भने एसोसिएट डिरेक्टरको भूमिकामा बसेका छन् ।
यो चलचित्रमा उनलाई दर्शकले अभिनेताका रूपमा देख्न पाउने छैनन् । अर्थात् उनले यसमा अभिनय गरेका छैनन् ।
मनीष सिनेमा पढेका अभिनेता हुन् । पढेर सिने करियरमा होमिएका उनले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन अभिनय गरेनन् ?
‘निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव सँगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो,’ मनीष भन्छन्, ‘म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।’
मन मिल्ने टिम र राम्रो कथा भएकाले मिहिनेत गरेर काम गरौं भन्ने उद्देश्यले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा फरक डिपार्टमेन्टमा काम गरेको उनले प्रस्ट पारे ।
हरेक अभिनेताको चाह निर्देशन पनि हुने गरेको दृष्टान्त दिँदै उनी अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताए ।
आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्नसक्ने उनले जानकारी दिए ।
भदौ ६ गते रिलिज हुने ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ अहिले पोस्ट प्रोडक्सनमा छ ।
बलियो लाइनअप रहेको चलचित्रमा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।