काठमाडौं, असार ९ :

नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग भेट गरी आफ्ना गुनासा सुनाएका छन् ।

खुमलटारमा भएको भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखे ।

शिक्षकहरूको गुनासो र माग सुनेपछि दाहालले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको उल्लेख गरे । उनले शिक्षकहरूप्रति सरकार जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । ‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेसा हो,’ उनले भने, ‘जहाँ देशको भविष्यसँग समेत गाँसिएको छ ।’

सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयनमा उदासीनता देखायो : नेपाल शिक्षक महासंघ

दाहालले शिक्षकका जायज माग कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोडदिए । ‘हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौं,’ उनले भने, ‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ । हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई शिक्षकका मागहरू पूरा भएनन् भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं ।’

उनले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याए । भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गरेका थिए ।