
६१ किलो सुन तस्करी प्रकरणमा मुछिएकी अमला रोकालाई धरौटीमा छुटेपछि पुनः पक्राउ गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पुनः नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले सम्पत्ति शुद्धिकरण विभागबाट प्राप्त पत्रअनुसार रोकालाई पक्राउ गरिएको जानकारी दिए । उनले भने, ‘हामीलाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएको थियो। सोही अनुरूप नियन्त्रणमा लिई पठाएका हौं ।’
गत शुक्रबार टोखाबाट पक्राउ परेकी रोका ६१ किलो सुनकाण्डमा संलग्न ठानिएका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्।
छिरिङ हाल फरार छन् भने उनीहरूद्वारा सञ्चालित ठमेलस्थित होटल भियना रोकाको नाममा दर्ता रहेको खुलेको छ। उनको खोजीका लागि इन्टरपोलमार्फत ‘डिफ्यूजन नोटिस’समेत जारी गरिएको थियो।