काठमाडाैं, असार ११ :

विशेष अदालतले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार अभियोग खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न बुधबार आदेश दिएको छ। आदेश लगत्तै उनले धरौटी बुझाएर घर फर्किने बाटो खुलेको छ।

अदालतका सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड रुपैयाँ बिगोसहित दायर गरेको मुद्दामा बुधबार बयान र थुनछेक बहस सकिएको थियो।

अख्तियारका अनुसार  नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ माघ १८ मा पतञ्जलि योगपीठलाई काभ्रेमा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न स्वीकृति दिँदा कानुनविपरीत भए पनि पछि ती जग्गा बिक्री गर्न अनुमति दिएको थियो। उद्योग-व्यवसायका नाममा हदबन्दी छुटमा किनेको ३५३ रोपनीभन्दा बढी जग्गा निजी कम्पनीलाई बेचिएको थियो ।

अख्तियारको  तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित पाँच जनाले बहस गरेका थिए भने नेपालका पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित केही कानुन व्यवसायीले ‘मन्त्रिपरिषद्को नीतिगत निर्णय’ भन्दै भ्रष्टाचारको अभियोग अस्वीकार गरेका थिए।

र यो पनि…

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकियो, आजै आदेश आउने