काठमाडौं, असार १२ :

उज्बेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप छनोटका लागि पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले तयारी सुरु गरेको छ। नेपालले आगामी आइतबार लाओसविरुद्ध खेल्दै छनोट अभियानको सुरुवात गर्नेछ।

नेपाल समूह ‘एफ’ मा परेको छ, जहाँ घरेलु टोली उज्बेकिस्तान, श्रीलंका र लाओस रहेका छन्। समूहको शीर्ष स्थान हासिल गर्ने टिमले सन् २०२६ मा अष्ट्रेलियामा आयोजना हुने महिला एसियन कपमा स्थान बनाउनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उज्बेकिस्तान पुगेको दोस्रो दिन नेपाली टिमले सामान्य अभ्यास गरेको छ। उज्बेकिस्तानको गर्मी मौसमका बीच टिमले शारीरिक फिटनेसमा केन्द्रित गर्दै अभ्यास सुरु गरेको हो। महिला टिम एसियन कप खेल्ने ठुलो लक्ष्यसहित उज्बेकिस्तान पुगेको हो।