काठमाडौं, असार १३ :

गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’ मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् ।

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् । कथा निर्देशक पाण्डेयले रचेका हुन् । यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायांकन निर्देशक महेश पौडेल छन् ।

विजय बस्यालले पोस्टर डिजाइन गर्नेछन् । रोमी तण्डुकारले सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज शिवाकोटीले संगीत दिनेछन् । निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ विल्कुलै पारिवारिक प्रेमकथामा आधारित छ । उनले अहिले नै विजय बराल र वर्षा राउतको भूमिकाबारे विस्तृत जानकारी दिन नमिल्ने बताएका छन् ।

उल्लेखनीय कुरा के छ भने, यस चलचित्रका लागि विजय बराल र वर्षा राउतले करिब ३ महिना अन्य चलचित्रमा काम नगर्ने भएका छन् । उनीहरूले आफ्नो चरित्र निर्माणको लागि यो समय सदुपयोग गर्नेछन् । चलचित्रको छायांकन भदौको पहिलो सातादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । साथै उनले ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको जनाए ।

चलचित्रका निर्माता करिब ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका सुप्रसिद्ध गायक रामकृष्ण ढकाल हुन् । उनको नेपाली चलचित्रसँगको सम्बन्ध पुरानो छ । सन् २००१ (विस २०५८) मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’ मा उनले अभिनय गरेका थिए । उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘मालती मंगले’ मार्फत उनी यसपटक निर्माताको भूमिकामा आएका हुन् ।