काठमाण्डौँ , भदौ २५ :

थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन ( शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि ) प्रदान गरिएको छ । 

बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकार मार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो । 

आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । 

उहाँले आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

काठमाडौँ महानगरपालिका- ११ का वडाध्यक्ष हरिलाल तण्डुकारले वडाले स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो ।

उहाँले सुत्केरीका लागि ‘सुत्केरी पार्क’ बनाउने प्रतिबद्धता जनाउनुभयो । 

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।