काठमाडाैं, असार १४ :

प्रधानमन्त्री केपी ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ लागेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे । प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थमा उच्च पदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख उपस्थित थिए ।

स्पेनको सेभिया सहरमा असार १६ गतेदेखि १९ गतेसम्म आयोजना हुने सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुँदै छ ।

कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा २१ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालले अल्पविकसित,साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्दै छन् भने विश्वका अन्य मुलुकका नेताहरुसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेन लगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।

भ्रमणअघि आजै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार साँझ ४:४५ बजे फर्कने तालिका छ ।