
संघीय निजामती सेवा विधेयकमा आफू संलग्न नभएको दाबी गर्दै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू दोषी देखिए जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।
प्रतिनिधिसभा समितिको बुधबारको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले खतिवडाले नै गरेको दोषारोपण गरेपछि उनले आफ्नो निष्ठा र सम्मानमा आँच आउने काम भएको जनाउँदै यस्तो बताएका हुन् ।
खतिवडाले भने आफूमाथि राजनीति सक्ने नियतले आक्रमण गरिएको गुनासो गरे। ‘म बाउ सहिद भएर वा चन्दा दिएर सांसद भएको होइन, निर्वाचनबाट आएको हुँ,’ उनले स्पष्ट पारे।
कांग्रेसकै सांसद थानीले सभापति खतिवडालाई सोधे- तपाईंको कोर टिममा को-को छन् ?
विधेयकमा आफूले कार्यअधिकारबाहिर कुनै काम नगरेको दाबी गर्दै उनले संसद्मा उठेको प्रश्न संसद्माथिकै प्रहार भएको टिप्पणी गरे।
निजामती सेवामा ‘कुलिङ पिरियड’ व्यवस्था ल्याइएको विषयमा स्पष्ट पार्दै उनले केही कर्मचारीको स्वार्थी प्रवृत्तिलाई नियन्त्रण गर्न यो व्यवस्था आवश्यक भएको पनि बताए।
सभामुखले छानबिन समितिबारे परामर्श थाले
यसैबीच, संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श सुरु गरेका छन्।
समिति सभापति खतिवडाले बैठकका निर्णयबारे मौखिक जानकारी गराएका थिए । सभामुखले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेका थिए । सभामुखले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरे ।
नेताहरूले प्रधानमन्त्री देशबाहिर रहेकाले उहाँ फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको समेत परामर्शमा समिति गठन गर्न सुझाव दिएका छन् ।
संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखिकरणका लागि तोक्नुभएको सभामुखलाई जानकारी गराए।