गोरखा, भदौ २६ :

गोरखाको भीमसेन थापा गाउँपालिका- ४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । 

गाउँपालिकाको पोषण विशेष कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिनुभयो । 

गर्भवती तथा सुत्केरी भएर १८ महिना पूरा नभएका वडा भित्रका सबैलाई विभिन्न १२ प्रकारका तरकारीका बीउ वितरण गरेको उहाँले बताउनुभयो ।

हिउँदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले घरमै आफैँले उत्पादन गरेको पोषणयुक्त तरकारी प्रयोग गर्न सकियोस् भनेर पनि बीउ वितरण गरिएको उहाँको भनाई छ ।

स्वास्थ्यचौकीले उनीहरूलाई हरियो सागसब्जी पालुङ्गो लगायत अन्य सागको बीउ, मुला, काउली, बन्दा, गाँजर, धनियाँ, डल्ले खोर्सानी लगायत तरकारीका बीउ उपलब्ध गराएको छ । 

धावामा ६४ गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो । तीमध्ये ११ गर्भवती र ५३ सुत्केरी आमा छन् ।