काठमाडौं, असार १९ :

सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन पाउने गरी अन्तरिम आदेश जारी गरेको छ। अब ती विद्यार्थीहरूले असार २१सम्म फाराम भरेर परीक्षामा सहभागी हुन सक्नेछन्।

नेपाल बार काउन्सिलले खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई फाराम भर्न नपाउने निर्णय गर्दै सूचना जारी गरेपछि उनीहरू सर्वोच्च अदालत पुगेका थिए। अदालतले न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमार्फत विद्यार्थीहरूलाई फाराम भर्न नदिनु वा परीक्षा दिनबाट वञ्चित नगर्न आदेश दिएको हो।

यसअघि विद्यार्थीहरूले खुला विश्वविद्यालयका कुलपति एवं शिक्षामन्त्री रघुजी पन्तसहित विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए, तर सुनुवाइ नभएपछि अन्ततः उनीहरु सर्वोच्चको शरणमा पुगेका हुन् ।