बागमती, भदौ २६ :
बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
रौतहट चन्द्रपुर नगरपालिका- २ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका- २ बकैया खोलाको बगरमा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका- ६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया- ६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेलापरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।