
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो ।
काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगन्ज, बुटवल र नेपालगन्जबाट एकसाथ पोस्टर अनावरण गरिएको हो । ‘देशभर एकसाथ सिनेमाको पब्लिसिटी होस् र सिनेमालाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ,’ चलचित्रका निर्माता विमल न्यौपानेले भने ।
चलचित्रको पब्लिसिटी केही फरक तरिकाले गर्दा दर्शकको ध्यान खिच्ने अपेक्षाले निर्माण टिमले देशका ठूला सहरमा एकसाथ पोस्टर सार्वजनिक गरेको हो । मोफसलका दर्शकलाई पनि सिनेमाबारे जानकारी दिने उद्देश्य रहेको निर्माता न्यौपानेले जानकारी दिए ।
निर्माण टिमले दुईवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् ।
अर्को पोस्टरमा केकी अधिकारी छिन् । दुईवटै पोस्टरले सिनेको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।
एउटा पोस्टरमा छेउछउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । विजय केकीको नीलो कलर मिरुनाको रातो कलरको बीचमा आधाआधा छन् ।
यसले केकी विजयको दिदी र मिरुना उनले विवाह गर्न चाहेको युवतीजस्तो देखिन्छ । मिरुना मंगोलियन फेसमा छिन् । विजय र केकी आर्य । त्यसैले विजय आफ्नो जातीय परम्परालाई अँगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरले प्रस्ट पारेको छ ।
अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन् । उनको हात पहेँलो, नीलो र रातो रङको धागाले बाँधिएको छ । त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दिनुपर्छ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ । पोस्टरमा लेखिएको छ, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी ।’ यसले विजयको निर्णयमा केकीको साथ रहेको संकेत गर्छ ।
पोस्टरमा रहेका कलरले दोधारमा रहेका पात्रको मनोविज्ञान चित्रित गर्छ । धागोले पोस्टरलाई केही फरकपन दिएको छ । दर्शकमा पोस्टरले सिनेमालाई नोटिस गराउन सक्छन् ।
निर्माणपक्षले यसअघि नै फर्स्ट लुक्स सार्वजनिक गरेको थियो । जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । चलचित्रको एसोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन् ।
बलियो लाइनअप देखिएको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चूडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।