काठमाण्डौँ , भदौ २७ :

 काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । 

उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ ।

रतनपार्क वितरण केन्द्र अन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्युरोड गेट, रञ्जना हल, विशालबजार सव स्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६ः ३० देखि ११ बजेसम्म लाइन काटिनेछ ।

यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्ली मोडसम्म पनि सोही समय सीमा भित्र बिजुली काटिनेछ । 

लैनचौर सव स्टेशनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौँ प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म  बिहान ६ः ३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ । 

प्राधिकरणले काठमाडौँ उपत्यका भित्र भूमिगत गरेको प्रसारण लाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।