काठमाण्डौं, भदौ २८ :

पुर्व, पश्चिम र सुदूरपश्चिमसम्म नै बुधबारदेखि फेरि बदली सुरु भएको छ । 
केही दिनयता मनसुनी वर्षा रोकिए जस्तो भए पनि मनसुन सकिएको छैन । दुई दिनयता घामछायाको अवस्थापछि बुधबार अपराह्नदेखि देशव्यापी बदली सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार हल्का वर्षा भए पनि बिहीबार र शुक्रबार लुम्बिनी र सुदूरपश्चिका धेरै भूभगमा मुसलधारे वर्षाको सम्भवना रहेको उहाँले बताउनुभयो । साथै बागमती र गण्डकी प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको छ ।

करिब एक महिना मनसुनको समय बाँकी रहे पनि मनसुनी प्रणालीको वेग कम भएको छैन । नेपालमा यो वर्ष बढी वर्षा हुने आकलन यसअघि नै भएको थियो । 

त्यसैले पनि मनसुन उत्तरार्धतिर लागेको छनक मौसमले नदिएको महाशाखाले जनाएको छ । अबको केही दिन देशका विभिन्न स्थानमा हुने भारी वर्षाले निम्त्याउन सक्ने बाढीपहिरो, डुबानलगायतका विपत्बाट आमनागरिकको जिउधन जोगाउन पूर्वतयारी गर्न सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।