
काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् ।
साउन र भदौमा हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
पाँच वटा मोटरसाइकलमा एउटै नम्बर प्लेट राखेर समेत चलाइरहेको भेटिएको उहाँले बताउनुभयो । चोरीमा संलग्न व्यक्ति पनि पक्राउ परेका छन् ।
कार्यालयले बुधबार मात्रै २२ वटा हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाएको प्रहरी नायब महानिरीक्षक बोहराले बताउनुभयो ।
गत वैशाख १५ गतेदेखि भदौ २४ गतेसम्म परेका निवेदनका आधारमा खोजतलास गर्दा ती मोटरसाइकल फेला परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।
सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कोटेश्वर, सुन्दरीजल, नयाँबसपार्क, नेपालटार, तिलिङ्गेटार, जनसेवा, सानेपा, कलङ्की, टोखा, सानोठिमी, स्वयम्भु, थानकोट र मैतीदेवी लगायत स्थानबाट हराएका ति सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको जनाएको छ ।