काठमाडौं, साउन ५ :

आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।

काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भिड देख्न सकिन्छ । साउने सोमबारको पूजाका लागि आएका दर्शनार्थीका लागि बिहान साढे ३ बजेदेखि नै चारै ढोका खुला गरेर दर्शन गराइएको छ ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा शिवालयमा भक्तजनको भिड लाग्ने गर्छ ।

साउने सोमबार : देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (तस्बिरसहित)

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भिड लाग्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।

काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजन बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।

हेर्नुहोस् पशुपतिनाथ दर्शनका लागि पुगेका भक्तजनका थप तस्बिर :