
नेपाली महिलाको महान् पर्व हरितालिका तिज नजिकिएसँगै बजारमा नयाँनयाँ गीत सार्वजनिक हुन थालेका छन् ।
यसै क्रममा गायिका कविता अर्यालको ‘श्रीमानज्यू’ बोलको तिज गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
रमेश परियारको शब्द/संगीत रहेको गीतमा स्वयं परियारले आवाज दिएका छन् । कार्यक्रममा उपस्थित कलाकारहरुले पछिल्लो समय तिज गीतको नाममा उशृंखल बढेको भन्दै कलाकारहरु अनुशासित हुन जरुरी रहेको धारणा राखेका छन् ।
कार्यक्रममा गायक पशुपति शर्माले नराम्रो गीत गाएर क्षणभरका लागि व्यक्तिगत लाभ भए पनि कला क्षेत्रमा लामो समयसम्म रहिरहन नसकिने धारणा राखे ।
गायक तथा मोडल शंकर बीसीले समाजमा विकृति फैलाउने खालका गीतहरुलाई अस्वीकार गर्न दर्शकलाई आग्रह गरे । कला र संस्कृतिको संरक्षणमा गीतहरुको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै कला र संस्कृति बोकेका गीतहरुलाई सबैले माया गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा उपस्थित अन्य कलाकारले समेत समाजमा जनचेतना जगाउने र नारी सशक्तीकरणमा सहयोग गर्ने खालका गीतहरु आउनुपर्नेमा जोड दिएका थिए ।