काठमाण्डौँ , भदौ २९ :

आगामी  बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका- ५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ ।

दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट  पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको यो जात्रालाई सहज रुपमा सम्पन्न गर्न नगरवासी, सुरक्षा निकायका साथै अन्य सम्बद्ध सबै पक्षलाई आव्हान गर्नुभएको छ ।     

तीन सय पचास वर्षअघिदेखि जिब्रो छेडेर आयोजना हुँदै आएको परम्परागत यो जात्रामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री लगायतको सहभागिता रहने नगर प्रमुख श्रेष्ठले बताउनु भयो । 
    
जात्राका मुख्य व्यक्ति ७१ वर्षीय नायपमा श्यामकाजी श्रेष्ठले जात्रामा १० इन्च लामो सुइरोले जिब्रो छेडेर तीन वटा सियालाई घुमाएर राख्दा पनि रगत नआउने दैवीशक्ति रहेको बताउनुभयो । 

गतवर्ष जिब्रो छेडेर पशुपतिनाथ सम्मको यात्रा गर्नु भएका मध्यपुरथिमि नगरपालिका- ५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दैवी शक्तिको बलमा त्यो पुरा गरेको जानकारी दिँदै तान्त्रिक शक्तिप्रति बेवास्ता गर्न नहुनेमा जोड दिनुभयो । 

येया पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले १७ किलो मिटरको यात्रा मध्यपुर थिमिबाट गुह्येश्वरी हुँदै पशुपतिनाथको दर्शनपछि पुनः मध्यपुरथिमिको बालकुमारी पुगेर सुइरो निकालेपछि जात्रा समापन हुने बताउनुभयो । 

जात्रामा लाख खर्च हुने उहाँको अनुमान छ ।