काठमाडौं, साउन १३ :

चलचित्र ‘कोसेढुङ्गा’को गीत सार्वजनिक भएलगत्तै लोकप्रिय भएको छ । डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ..’ लोकप्रिय भएको हो ।

तिजको यो गीतमा ठुलो संख्यामा टिकटक भिडियो बनेका छन् निर्देशक सरोज पौडेलका अनुसार २० हजारभन्दा धेरै टिकटक भिडियो बनिसकेका छन् । युट्युबमा १० लाखभन्दा धेरै दर्शकले हेरिसकेको गीत फेसुकमा ७० लाखभन्दा धेरैले हेरेको उनले बताए ।

‘नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ,’ उनले भने, ‘हाम्रो अपेक्षाअनुसारै दर्शकले मन पराइदिनु भएको छ । दैनिक हजारौँले भिडियो बनाइरहनु भएको छ ।’

गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बू मगरको छ ।

गीत तिजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रस्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् ।

निर्माणपक्षले यो गीतमा टिकटक प्रतिस्पर्धासमेत घोषणा गरेको छ । प्रतिस्पर्धा अगस्त २० सम्म सहभागीले भागलिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिँदा ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नुपर्नेछ । यसमा बेस्ट पर्फमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउनेछन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘कोसेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ ।

‘पूर्णबहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोसेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्‌को सहकार्य रहेको चलचित्र ‘कोसेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ ।

‘कोसेढुंगा’को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । ‘कोसेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै छ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलोपटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।

पहिलोपटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोसेढुंगा’ ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।