काठमाडौं, साउन १४ :

पूर्वगभर्नर चिरञ्जीवी नेपालले विकासित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरे पनि नेपालमा कहिल्यै त्यस्तो नभएको बताएका छन् ।

नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषय अन्तर्क्रि उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताएका हुन् ।

उनकाअनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिनसक्छ । अहिले सरकारले लिएको वित्तीय नीति र मौद्रिक नीति लचक रहेको पूर्वगभर्नर नेपालले बताए । पूर्वगभर्नर नेपालका अनुसार मौद्रिक नीतिले धेरै लचकता लिएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलाउनेछ । यद्यपि लचिलो मौद्रिक नीतिकाका कारण जोखिमहरु पनि धेरै रहेको उनको भनाइ छ ।

पूर्वगभर्नर नेपालका अनुसार ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नु, धेरै पैसा बजारमा थ्रुपिनु सकारात्मक नरहेको दाबी गरे ।

‘भोलिका दिनमा पैसा उपभोगमा मात्रै गयो भने आयात बढेर फेरि विदेशी सञ्चितिमा बढी दबाब पर्ने त होइन । हामीलाई हिजोका दिनमा विदेशी सञ्चितिमा असर पर्दा के भएको थियो, त्यसको हेक्का समेत राख्नुपर्छ । भोलिका दिनमा उपभोक्ताहरुले थेरै ब्याजदर भयो भन्दै बैंकबाट निक्षेप निकालेर अब हामी यसलाई उपभोग गर्छौं भन्न थाले भने ब्याजदर बढ्नसक्छ,’ उनले भने, ‘लामो समयसम्म लगानी गर्न न्यून ब्याजदर कहिलेसम्म रहन्छ भन्ने हामीले हेर्नुपर्ने स्थिति छ ।’

उनले विगतमा स्टिमूलस प्याकेज ल्याएर अर्थतन्त्र सुधार्नुपर्नेमा सरकारहरु चुकेको बताए । अर्थतन्त्र सुधार्न सरकारले कर छुटदेखि लगानी प्रवर्धनका निम्ति विभिन्न कार्यक्रम ल्याउनुपर्छ । विस्तारकारी बजेटसँगै मौद्रिक नीति दुवै आउनुपर्छ । अहिले आएको विस्तारकारी मौद्रिक नीतिले पार्ने प्रभावका बारे केही दिनमै थाहा हुने उनको भनाइ छ ।